काठमाडौं, नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गर्नुभएको हो ।
उद्घाटनका क्रममा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच फोर जी प्रयोग गरेर भिडियो कन्फरेन्स गरिएको थियो । यस क्रममा मुख्यमन्त्रीहरुले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरेका थिए । नेपाल टेलीकमको फोर जी सुभारम्भ कार्यक्रममा बोल्दै सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिलेको सरकारले अगाडी सारेको नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य प्राप्तीमा टेवा पुग्ने बताउनुभयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक तिब्र गतीमा अगाडी बढेको दाबी गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी दिन प्रतिदिन नयाँ नयाँ काम गरेर इतिहासकै उल्लेखीय काम गरेका छौं । यस नेपाल टेलीकमको फोर जी सेवा त्यस्ता काम मध्यको एक हो ।’
फाेर जी इन्टरनेटको यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुनेछ ।