चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रुसको पहिलो मानवाकृत रोवोट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

      - ६ वर्ष अगाडि
      भाद्र ११,२०७६

      मस्को, रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोवोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मङ्गलबार स्थापना गरेको छ। गत साता रुसको यो अभियान असफल भएको थियो।

      फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोवोटले मानिसझैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ। यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ।

      नासाका एक जना टिप्पणीकर्ताले भने, 'सम्पर्क स्थापित भएको छ, रोवोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ।' रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोवोट अन्तरिक्षमा पुर्‍याइएको जनाएको छ।

      अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो। टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब ७ जना पुगेको बताएका छन्। यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन्।

      उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो। उक्त रोवोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ।

      सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्‍याउने गरिन्छ, तर यसपटक रोवोट पठाइएको छ। यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन्।

      अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोवोट भने होइन। सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट-२ नामको रोवोट पठाएको थियो। यो रोवोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो।

      तर, प्राविधिक समस्या देखिएपछि यो रोवोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो।

      सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोवोट पठाएको थियो। टोयोटाले बनाएको यो रोवोटले संवादहरु संग्रहित गर्नसक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो।

      सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ। रासस/एएफपी

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d