काठमाडौं , पर्यटकहरुलाई विभिन्न नयाँ ठाउँ घुम्न र देख्न मन पर्छ । यसै क्रममा नासाले पर्यटकहरुको लागि एउटा नयाँ अफर ल्याएको छ । पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने हुन्छ ।
स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्राष्ट्रिय स्पेस स्टेशन जान पाउनेछन ।
अन्तरर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले भनेका छन्, हरेक वर्ष छोटो अवधिको लागि निजी अन्तरिक्ष मिशन पठाइने छ । यस मिशनको खर्च निजी कम्पनीले व्यहोर्ने छ ।
नासाका अनुसार निजी अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानका लागि ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट स्टेशनमा लगिने छ ।
अन्तरर्राष्ट्रिय स्पेस स्टेशन बाहिरी अन्तरिक्षमा अवस्थित छ । यो स्टेशन अन्तरिक्षसँग सम्बन्धी अनुसन्धान गर्नका लागि विकसित गरिएको थियो । यो पृथ्वीको नजिकको कक्षमा रहेको छ । यो स्टेसन एक प्रकारको कृत्रिम उपग्रह हो, जहाँ मानिसहरु बस्छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोगहरु गर्दछन ।
मुख्य लेखा अधिकारी जेफ डेविटले भनेका छन्- नासा अन्तरर्राष्ट्रिय स्पेस स्टेशनलाई व्यवसायिक अवसरका लागि खुला गरिँदै छ । हामीले यस्तो पहिलोपटक गर्न गइरहेका छौं ।
निजी कम्पनीले नै क्रूमा को-को रहने भन्ने तय गर्ने छ र उसैले नै अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ । यी कम्पनीले कुनै निजी अन्तरिक्ष यात्रीसँग त्यति नै भाडा लिने छ, जति उसले नासाका अन्तरिक्ष यात्रीहरुसँग लिने गरेको छ । अर्थात् हरेक उडानमा उसले ६ करोड डलरभन्दा बढी भाडा लिने छ ।
यसअघि नासाले स्पेस स्टेशनलाई कुनै व्यवसायिक रुपमा खुला गरेको थिएन । उसका अन्तरिक्ष यात्री अन्य कम्पनीको अनुसन्धानमा भाग लिन पाउँदैनथे । यद्यपि नासा यस स्टेशनको मालिक भने होइन ।
अमेरिका र रुस मिलेर सन् १९९८ मा यसको निर्माण सुरु गरेका थिए ।
सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जाने पहिलो पर्यटक थिए । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर बुझाएका थिए ।