श्रावण २२,२०७९ / ०९ : ५५ अपरान्ह / 2022-08-07 09:55 pm

        सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

        - ३ वर्ष अगाडि
        भाद्र ४,२०७५

        काठमाडौं, संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

        समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

         सिंहदरबारमा सोमबार बसेको समिति बैठकले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएको भन्दै त्यसलाई नियमन गरी करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा अर्थ मन्त्रालयलाई निर्देश गरेको हो । 

        त्यस्तै बैठकले अन्य देशका टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टीसम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ । 

        बैठकले दुरसञ्चार विकास कोषको उपलब्धि, ‘फोर जी’ बारेको उपलब्धि, विधुतीय कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्थाबारे जानकारी गराउन सञ्चार मन्त्रालयलाई समितिले निर्देशन दिएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए । 

        बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गर्दे नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको बताए । त्यस्तै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी दिए । 

        समिति सदस्यहरुले टेलिकमको सेवाको गुणस्तर बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भए पनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोग गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

          सम्बन्धित समाचारहरु