काठमाडौँ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र, सेवाग्राहीले सेवा लिँदा पेश गर्ने निवेदनका ढाँचा, सम्बन्धित नीति नियम र कानूनबारे जानकारी, भूमि शब्दकोष, नापी क्यालकुलेटरलगायत सुविधा समेटिएका छन् ।
सो अवसरमा मन्त्री खनालले मन्त्रालयले जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी गुनासा सम्बोधन गर्न आफू क्रियाशील रहेको बताउनुभयो । एप्लिकेसन सानो शुरुआत भए पनि सेवाग्राहीका लागि महत्वपूर्ण रहने उहाँको भनाइ छ । “सेवाग्राहीले जतिबेला जहाँ चाहे पनि सेवा लिनसक्ने र सरकारले जसलाई जतिखेर जाँच गर्न सक्ने व्यवस्था आवश्यक छ ।” अरु क्षेत्रभन्दा भूमि क्षेत्रमा बढी समस्या देखिएको भन्दै उहाँले नापीमा हाल रहेको व्यस्थामा सुधार जरुरी रहेको आँैल्याउनुभयो ।
उक्त एप्लिकेसन स्मार्ट मोबाइल फोनमा ‘डाउनलोड’ गरेपछि इन्टरनेट नभए पनि चलाउन सकिन्छ । यो एप्लिकेसनका जानकारीले सेवाग्राहीलाई नापी तथा मालपोतका सेवामा सहजता ल्याउने र यस कार्यका लागि मध्यस्तकर्ताको आवश्यकतासमेत नपर्ने विश्वास लिइएको छ ।








