काठमाडौ, आज विहानैबाट मेघगर्जनभई उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसमविद्का अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका केही स्थानहरूमा दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भु भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको छ । पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा सामान्य बदलीसँग वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ ।
राती देशको पुर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशको पूर्वी र पश्चिमी भूभाग लगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका केहि स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।








