काठमाण्डौ - यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल चढ्दा मृत्यु भएका पर्वतारोहीको संख्या १८ पुगेको छ।
पर्यटन विभागका अनुसार कमजोरी, थकान र अत्यन्त भीड भएकाले आरोहण÷अवतरणमा हुने ढिलाईका कारण पर्वतारोहीको मृत्यु भएको हो। पर्यटन विभागले यो सिजनमा सगरमाथा आरोहण गर्न ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको थियो। यति धेरै जनालाई आरोहण अनुमति दिएकोमा विभागमाथि प्रश्न खडा भएको छ । सरकारले सगरमाथा आरोहणको अनुमति दिन जनही ११ हजार अमेरिकी डलर शुल्क राजस्व लिने गरेको छ।
यस वर्ष पनि सगरमाथाको शिखरनजिक आरोहीहरूको ठूलो भीड र लामो पंक्ति देखिएका तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका छन्। सगरमाथामा यसै साता एक नेपाली, एक अस्ट्रियाली र एक अमेरिकाली आरोहीको मृत्यु भएको छ। गत साता आयरल्यान्डका अर्का आरोही प्रोफेसर सिमस ललेस माथिबाट खसेर बेपत्ता भएका थिए। खोजी भइरहेको भनिएपनी उनको मृत्यु भइसकेको अनुमान छ।
यस सिजनमा सगरमाथाको मौसम अघिल्ला बर्ष भन्दा निकै खराब छ। हावाहुरीका कारण पर्वतारोहीले थोरै समयभित्र शिखर उक्लन र ओर्लनु परिरहेको छ। यसपल्ट सगरमाथाको चुचुरोमा पुग्ने आरोहीको संख्या गत वर्षको भन्दा पनि धेरै हुने अनुमान गरिएको छ। गत वर्ष ८ सय ७ जना सगरमाथा शिखरमा पुगेका थिए।








