भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी चार वर्षमा पूर्वपश्चिम, काठमाडौं तराई, काठमाडौं पोखरालगायत क्षेत्रमा विद्युतीय रेल संचालन हुने दाबी गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री महासेठले रेल संचालनबारे भारत र चीनसँग सम्झौता गरिएको जानकारी पनि दिए । मन्त्री महासेठले माघसम्म तराईमा आफ्नै रेल चलाउने तथा भारतबाट भाडामा लिएर चलाउने बताए । सबै आयोजनामा नयाँ प्रमुख आएको र उनीहरूसँग राम्रो छलफल गरेर आयोजनाका काम अघि बढाउने उनको भनाई छ ।
बैठकमा समिति सदस्यहरुले भने मन्त्रीको दाबीमा आशंका जनाएका जनाएका छन् । सांसद रामपृत पासवानले आयोजनाका प्रगति स्थिर भएको अवस्थामा मन्त्रीको भनाइमा विश्वास गर्न नसकिएको बताए ।
बैठकमा मातहतका आयोजना अधिकारीहरुले राष्ट्रिय गौरवका आयोजनाका प्रगति विवरण, लागत, वर्तमान अवस्था, समस्या लगायतका बारेमा समितिलाई जानकारी गराएका थिए ।








