काठमाण्डौ, काठमाडौँ महानगरपालिकाले शहरलाई धुवाँधुलोबाट मुक्त बनाउन भन्दै ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ’ कार्यक्रम सुरु गरेको छ । शनिबार रत्नपार्कबाट कार्यक्रम शुभारम्भ गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई चाँडै धुवाँधुलोमुक्त बनाउने योजना अघि सारेका हुन् ।
यसअघि पनि महानगरपालिकालगायत विभिन्न सघंसस्थाले फरकफरक तरिकाले महानगरका यस्ता अभियान सञ्चालन गरे पनि प्रभाकारी हुन सकेको थिएन । तर शनिवारदेखि सञ्चालन गरिएको ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ’ कार्यक्रमले काठमाडौलाई सफा र सुन्दर बनाउने दाबी गर्छन्, महानगरका प्रवक्ता ज्ञानेन्द« कार्की । यो अभियानले महानगर अब चाँडैफोहोरमैला र धुवाँधुलोामुक्त हुने उनको भनाइ छ ।
यो अभियानअन्तर्गत सडक सरसफाईसँगै शहरभर हरियाली प्रवद्र्धन गर्ने योजना रहेको महानगरपालिकाको भनाइ छ । सडकछेउमा अव्यवस्थित रुपमा रहेका विद्युत् पोल र तिनमा रहेका केबल, विद्युतका तारको समेत व्यवस्थापन गरिने छ । शहरी सौन्दर्यका लागि बाधक बनेका खानेपानीका पाइप र ढल व्यवस्थापनलाई समेत तीव्रता दिने प्रवक्ता कार्कीको भनाइ छ ।
महानगरले यस्ता योजना यसअघि पनि अघि नबढाएको होइन । तर यसअघिका योजना प्रभावकाकारी बन्न सकेका थिएनन् । यस्ता योजना कार्यक्रममा मात्र सिमित नभई कार्यान्वयनमा पनि आउन सके धुवाँधुलो र फोहोरमैलाले आक्रान्त भइरहेका महानगरवासीले राहत पाउने थिए ।








