काठमाण्डौ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर शाक्यले बिकास निर्माणदेखि पूर्वाधार विकाससम्मको काम आफुले गरेको दाबी गरेका हुन् । आफू आएपछि सडकका क्षेत्रमा ६० प्रतिशत काम सम्पन्न भैसकेको, पूर्ननिर्माणसम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २÷४ वटा कामहरु मात्र बाँकी रहेको बताए । मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले बताए ।
उनले काठमाडौंका सम्पदा पूर्ननिर्माणमा महानगरले कुनै कसर बाँकी नराखेको पनि जिकिर गरे । काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई प्रश्न गर्नु स्वभाविक भएको उल्लेख गर्दै उनले यसमा सवै सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले काठमाडौं महानगरले बजेट बनाउँदा जथाभावी कर उठाउन लागेको भनेर भ्रम फैलाएको गुनासो पनि गरे ।
त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको जानकारी दिए । आपराधिक घट्ना घट्न नदिनको लागि नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरले सिसी क्यामेराको व्यवस्थापन गर्ने पनि उनले बताए ।








