काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता नेपालले सरकारले दिर्घकालीनका साथै तत्कालीन जनतामाफ प्रत्यक्ष सरोकार हुने बिषयमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले जनतालाई प्रत्यक्ष सरोकार राख्ने बिषयमा सरकार सुस्त रहे जनतामा नकारात्मक सन्देश जान सक्ने तर्फ सचेत गराए । उनले सरकार र नेकपाले प्रतिपक्षीलाई सदन र सडकमा आउने अबस्था दिनै नहुने धारणा राखे ।
कार्यक्रममा नेकपा नेता अमृतकुमार बोहराले सरकारले रणनीतिक काममा सफलता हासिल गरेको दाबी गरे । नेता बोहराले अब बस्ने स्थायी कमिटीको बैठकमा नेताहरुबीच देखिएको दूरीलाई समाप्त पार्दै पार्टीलाई एकताबद्ध बनाउन आ–आफ्नोतर्फबाट भूमिका खेल्न नेताहरुलाई आग्रह गरेका छन् । त्यस्तै नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले दुईतिहाइ बहुमतप्राप्त सरकारले सबैभन्दा पहिले शासकीय गुण बनाउन जरुरी रहेको बताए ।
नेताहरुले पार्टीको कमजोरीलाई टेकेर सरकार असफल बनाउने प्रयासमा प्रतिपक्षी दल नेपाली कांग्रेस लागेको आरोप लगाएका छन् ।








