काठमाण्डौ, मलेसियामा काम गर्न जाने नेपाली कामदारले अब धेरै खर्च गर्न नपर्ने भएको छ । यसअघि कामदारले गर्दै आएका विभिन्न शीर्षकको खर्च अब रोजगारदाता कम्पनीले बेहोर्ने गरी सम्झौता भएको हो ।
अब मलेसियामा काम गर्ने नेपाली कामदारले त्यहाँको सरकारले तोकेको न्यूनतम तलबभन्दा कम नहुने गरी प्रत्येक महिनाको ७ गते बैंक खातामा तलब पाउनेछन् । नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिर जानेमध्ये ३० प्रतिशतभन्दा बढी त मलेसिया मात्रै पुग्ने गरेका छन् । अरु देशभन्दा मलेसिया जाने नेपालीको संख्या धेरै छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौमा आयोजित बिशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।
समझदारीअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च सम्बन्धित रोजगारदाता कम्पनीले बेहोर्ने छ । सम्झौता अनुसार कामदारले लेबी पनि तिर्नुपर्दैैन भने करार अवधि तीन वर्ष रहँदै आएकोमा घटाएर दुई वर्ष बनाइएको छ ।
तलब मलेसिया सरकारले तोकेको न्यूनतम तलबभन्दा कम नहुने गरी प्रत्येक महिनाको ७ गते बैंक खातामा पठाइने छ । त्यसैगरी कामदारको परिवारका सदस्यको मृत्यु भए १५ दिनका लागि नेपाल आउन पाउने, मलेसियामा रहेको नेपाली दूतावासलाई कामदारको अंगभंग तथा घाइते भएको जानकारी गराउने, कामदारको मृत्यु भए शव रोजगारदाता कम्पनीले पठाउने र महिला कामदारलाई विशेष सुरक्षा प्रदान गर्ने विषयमा समझदारी भएको श्रम मन्त्री विष्टले जानकारी दिए ।
त्यस्तै मलेसियाका मानव संशाधन मन्त्री कुलाशेगरनले कामदार लिने पठाउने दुवै देशमा रहेको प्रक्रियालाई यो समझदारीले थप मर्यादित, सुरक्षित र प्रणालीगत ढंगको बनाउने जानकारी दिए । उनले नेपालसहित नौ देशसँग मलेसियाले यस्तो समझदारी गरेको बताएका छन् ।
समझदारीअनुसार कामदारको स्वास्थ्य परीक्षण तथा सुरक्षा क्लियरेन्समा लाग्ने शुल्क तत्कालका लागि रोजगारदाता कम्पनीले बेहोर्ने र मलेसिया पुगेपछि कामदारको पहिलो महिनाको तलबबाट कट्टा गरिने छ । विगतमा कामदारको पासपोर्ट रोजगारदाता कम्पनीले लिने गरेकोमा अबदेखि पासपोर्ट कामदार आफैंले साथमा राख्न पाउने छन् ।
त्यसैगरी समझदारीपत्रको प्रभावकारी कार्यान्वयन गर्न तथा विगतमा रहेको र आउन सक्ने समस्या समाधान गर्न संयुक्त कार्य समूह गठन गरिएको छ । गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने १ लाख ४ हजार २ सय ९ जना युवाहरू रोजगारीका लागि मलेसिया पुगेका छन् । उनीहरूमध्ये ९९ हजार ९ सय ८३ जना पुरुष र २ हजार ९ सय ९६ जना महिला रोजगारदाता कम्पनीमार्फत् मलेसियामा रोजगारीका लागि पुगेका छन् । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिई १ हजार २ सय ३० युवा मलेसिया पुगेका छन् ।








