काठमाडौं । बिगत ६ महिनादेखि नेपाली कामदारका लागि बन्द भएको मकलेसियाको वैदेशिक रोजगारी अब खुल्ला हुने भएको छ । नेपाली कामदारहरु निशुल्क मलेसिया जान पाउने भएका छन् ।
नेपाल र मलेसिया बीच शुन्य लागतमा नेपाल श्रमिक लैजाने सहमतिपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरन आइतबार राती काठमाडौं आइपुगेका छन् । नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले स्वागत गरे ।
उनी सोमबार (आज) १० बजेबाट सुरु हुने मन्त्री स्तरिय बैठकमा सहभागी भइ समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यो समझदारीसँगै रोजगारीको प्रमुख गन्तव्य मलेसियामा नेपाली कामदार निशुल्क जान पाउने भएका हुन् ।
६ महिनायता रोकिएको नेपाली कामदारको मलेसिया यात्रा अब खुल्ने तय भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दुई देश बीचको श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी मन्त्री बिष्टलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।








