वौद्धिक रंगशाला ः त्रिवि केन्द्रिय पुस्तकालय, कस्तो थियो ? कस्तो भयो ?
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो र ठूलो विश्वविद्यालय हो । काठमाण्डौको कीर्तिपुरमा अवस्थित यस विश्विद्यालयले त्यस क्षेत्रलाई वौद्धिक रंगशाला जस्तै बनाएको छ ।
सुन्दर अनि शान्त वातावरण छ । ०१६ सालमा स्थापना भएपछि त्रिविले अनेक उतारचढाव भोग्नुपरेको छ । तर, जस्तै उतारचढाव बीच पनि ज्ञान बाँडेको छ ।
काठमाडौंमा तीन हजार ४२ रोपनीभन्दा केही धेरै छ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्षेत्रफल । यो विशाल क्षेत्रको बीचमा छ त्रिविको केन्द्रीय पुस्तकालय ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अवस्थित त्रिवि केन्द्रीय पुस्तकालय देशकै सबैभन्दा ठुलो पुस्तकालय हो । यसको स्थापना वि सं २०१६ सालमा भएको हो । १ हजार २ सय सङ्ग्रहबाट सुरूवात भएको यस पुस्तकालयमा हाल ३ लाख ५० हजार भन्दा बढि सङ्ग्रह छन् ।
त्रिवि केन्द्रीय पुस्तकालयमा रहेका महत्वपुर्ण सङ्ग्रहहरू ः
अभिलेख सङ्कलन
श्रव्य दृश्य सङ्कलन
साधारण सङ्कलन
माईक्रोफिल्म सङ्कलन
नेपाल सङ्कलन
नेपाली पत्रिका सङ्कलन
दुर्लभ किताब सङ्कलन
अनुसन्धान पत्रिका सङ्कलन
सिंह सङ्कलन
सन्दर्भ सङ्कलन
पाठ्यपुस्तक सङ्कलन
संयुक्त राष्ट्र संघ सामग्री सङकलन
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालयमा दैनिक आठ सय जति पाठक आउने गर्दछन् । अधिकांश त्यहीं बसेर पढ्ने विद्यार्थी हुन् भने केही भने आईएसबीएन नम्बर लिन जान्छन् ।
त्रिविअन्तर्गत ६० आंगिक क्याम्पस र विभिन्न विभाग छन् । तिनै क्याम्पस र विभागको केन्द्रीय पुस्तकालय हो यो । तर सेवाका हिसाबले केन्द्रमा धाउनेबाहेक अन्यत्र सेवा दिन सकेको छैन । केन्द्रमा आउने पाठकले पढ्न चाहेको किताब मुस्किलले पाउँछन् । आफूले चाहेको पुस्तक नपाएपछि पुस्तकालय कक्षहरूको रमिता हेरेर फर्किन्छन् । तीन वर्षअघि गएको भूकम्पपछि भने केन्द्रीय पुस्तकालयमा दैनिक पाठकको चाप बढे पनि चाहेकै पुस्तकचाहिँ लिन सकिरहेका छैनन् ।
यद्यपि पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारी सबैखाले पुस्तक व्यवस्थित गरेको दाबी गर्छन् ।
भूकम्पबाट जीर्ण पुस्तकालयको पुरानो भवन पुनर्निर्माण हुन सकेको छैन । उक्त भवनको माथिल्लो तलाको पूर्वतर्फको कक्ष पूरा खाली छ । पश्चिमतर्फ केही पुस्तक र जीर्ण फर्निचर तथा स्टिल दराजहरू थुपारिएका छन् । भुइँतलाको पश्चिमतर्फ आधा फिट धसिएको पूरै कक्ष खाली छ । व्यवस्थापन हुन सकेको छैन । भूकम्पबाट भाँचिएका तीन सयभन्दा बढी पुस्तकालर्य यार्क याकलाई दुखजिलो बाँधेर पुनस्प्रयोग गरिएका छन् । त्यहाँको पुस्तक अन्यत्र सारेर सुरक्षित राखिएका छन् । कतिपय पुस्तक, जर्नल, पत्रपत्रिका थन्किएको अवस्थामा छन् ।
पुस्तकालयको माथिल्लो तलामा इन्टरनेट सेवा छ, तर राम्रोसँग चल्दैन । अहिले पुस्तकालयमा बीसवटा कम्प्युटर छन् । तर सेवा लिनेले चाहेजस्तो छैन ।
यसअघिको रेकर्डअनुसार केन्द्रीय पुस्तकालयमा ४ लाख १० हजारभन्दा बढी किसिमका पुस्तक, जर्नल र पत्रपत्रिका छन् । त्यसैगरी २५ लाख किसिमका अनलाइन जर्नल, ईबुक सेवा रहेका छन्, जुन अध्येताले निस्शुल्क उपयोग गर्न सक्छन् ।
पुस्तकालय हाताभित्रै प्रि–फेबको सातकोठे भवन बनेको छ । यसबाट सेवा विस्तारमा केही सहज भएको छ ।
पुस्तकालयमा ८८ दरबन्दीमध्ये ५३ जना कर्मचारी कार्यरत छन् । जसमा आठ जना अधिकृत तहका छन् । आईटी विज्ञका रूपमा एक जनामात्र छन् । कार्यरत अधिकारीले ‘कर्मचारी नपुगेको’ बहाना पार्दै दिन काट्ने गर्दछन् ।
“भूकम्पपछि भुइँमा छरिएका सबै पुस्तक दराजमा राखिसकेका छौँ ।” पुस्तकालय प्रमुख अधिकारी भन्छन् । “अति आवश्यक र तत्काल चाहिने दराजमा छन् भने केही चाङ लगाएर राखिएका छन् । कुनै पुस्तक बोरामा छैनन् । सेवा दिइरहेका छाँै ।”
पुस्तकालयमा ‘अमेरिकन स्टडिज’ र ‘जापानिज स्टडिज’ गरी दुई कक्ष छन् । अन्य मुलुकले पनि आफ्नो कक्ष राख्न भनेका छन् तर ठाउँ छैन । पुस्तकालयमा सीसीक्यामरा राखिएका छन् । प्रवेशद्वारमा राखिएको वर्षौं पुरानो डिकेन्टर मेसिन छ । चाहेजस्तो काम गर्दैनन् ।
यसअघि त्रिवि केन्द्रीय पुस्तकालय भवन निर्माण गरिदिन भारतीय दूतावासमा प्रस्ताव गरिएको थियो । तर, नाकाबन्दीपछि त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
त्यसका साथै चिनियाँ सरकारले समेत अत्याधुनिक सुविधासम्पन्न पुस्तकालय निर्माण गरिदिने तर त्यसनिम्ति एक सय रोपनी क्षेत्रफल जग्गा हुनुपर्ने प्रस्ताव गरेको थियो । ठाउँको अभावमा उक्त प्रस्ताव अघि नबढेको जनाइएको छ । केन्द्रीय पुस्तकालयमा चालु आर्थिक वर्ष २०७४–७५ का निम्ति कुल बजेट ४ करोड रुपैयाँ रहेको छ । त्यसमा पुस्तक, जर्नल, पत्रपत्रिका खरिदका निम्ति १ करोड रुपैयाँ बजेट रहेको छ । पुस्तकालय व्यवस्थापनका निम्ति सबैभन्दा धेरै बजेट प्राप्त गर्ने केन्द्रीय पुस्तकालय मात्र हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालय नेपालकै अति व्यस्त पुस्तकालयका रुपमा विकास भइरहेको छ ।
तत्कालिन श्री ५ मुमा बडामहारानी इश्वरी राज्यलक्ष्मीदेवी शाह र कान्ति राज्यलक्ष्मीदेवी शाहको सम्पत्तिको योगदानबाट २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै त्रिवि पुस्तकालयका रुपमा स्थापना भएको हो । सो पुस्तकालयमा नेपाल कलेक्सन, फरेन सेक्सन, आर्काइभ (दुर्लभ बौद्धग्रन्थ, परम्परागत औषधि, प्राचीन ग्रन्थ)सहित त्रिविअन्तर्गतका ३८ वटा केन्द्रीय विभागका लागि आवश्यक पुस्तक, एमफिल (मास्टर अफ फिलोसफी र पिएचडीका सन्दर्भ सामग्री र स्थायी महत्वका चार लाखभन्दा बढी पुस्तक रहेका छन् ।
काठमाडौँको केन्द्रमा रहेको लालदरबारमा रहेको पुस्तकालय पनि त्रिवि पुस्तकालयमा गाभिएपछि विसं २०३२ पुस ४ गते त्रिवि पुस्तकालयको नाम परिवर्तन भई केन्द्रीय पुस्तकालयको रुपमा परिचित भएको हो ।








