काठमाण्डौ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका २ डेरीका ४ गोदाममा सरकारले शिलबन्दी गरिदिएको छ ।
भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर दुध बेच्ने गरेको पाईएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सहितको टोलीले सोमबार ४ गोदाममा शिलबन्दी गरेको हो । सोमबार मन्त्री खनालले अनुगमन गर्दा उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा फेला परेको थियो ।
मन्त्री खनाल सहितको टोलीले अनुगमन गरी आधुनिक डेरी प्रोड्क्ट प्रा.लि.का तीन वटा गोदाममा र पुष्प डेरीमा शिलबन्दी गरेको छ । साथै सामुहिक कृषक लिमिटेडको उत्पादन शुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ । अनुगमनपछि मन्त्री खनालले परिणाम नआउँदा सम्म अनुगमन जारी राखिने बताए ।
दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भएपनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको भेटिएको मन्त्री खनालले बताए ।
मन्त्री खनालले नियमविपरीत सन्चालनमा आएका उद्योगलाई तुरुन्तै कारबाही गर्ने स्पष्ट पारे । त्यस्तै काठमाण्डौंका सबै डेरीबाट दुधजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ ।








