काठमाडौं, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल ओझेलमा पार्ने कुनैपनि बहाना अस्विकार्य हुने पोखरेली वासीले बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघद्वारा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले विमानस्थल निर्माणमा अवरोध गर्न खोजिए सशक्त प्रतिकार गर्ने जनाएका हुन् । उसअघि पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समुहले व्यवसायिक हिसाबले साना जेट विमान पनि संचालन गर्न नसकिने भन्ने प्रतिवेदन दिएको छ । साथै विमानस्थल आत्मनिर्भर हुन कठिन रहेको पनि प्रतिवेदनमा उल्लेख छ । गत जेठ २२ मा सार्वजनिक गरेको प्रतिवेदनप्रति पोखरेलीले आपत्ति जनाएका हुन् ।
संघका अध्यक्ष विश्वशंकर पालिखेले अझै पनि विमानस्थल तुहाउने प्रयास भइरहेको भन्दै यसतर्फ सतर्क हुनुपर्ने बताए । ‘२ अर्ब बराबरको १५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो प्रतिवेदन आउनु दुर्भाग्य भएको बताएको छ । पोखराकै मन्त्री भएको बेला उनले नै गठन गरेको विज्ञ समुहले यस्तो प्रतिवेदन बुझाउनु दुर्भाग्यपूर्ण भन्दै उनले यसको जिम्मेवारी पनि पर्यटनमन्त्रीले नै लिनुपर्ने बताए । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रतिवेदन दुरासय र पुर्वाग्रह भएको बताए ।
नेकपाका नेता राजकाजी गुरुङले विज्ञको भनाई हावादारी रहेको भन्दै योजनावद्ध ढंगले प्रतिकार गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सांसद विन्दुकुमार थापा, पोखरा उपत्यका नगर बिकास समितिका पूर्व अध्यक्षद्वय विश्वप्रकाश लामिछाने र प्रकाश खनाल, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले विमानस्थल अवरोध गर्न खोजिए विगतमा जस्तै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।








