काठमाडौं, आगामी जुन १२ लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको उच्च सुरक्षा गोर्खालीले गर्ने भएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिएका हुन् । वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै तर्फबाट पनि सुरक्षा टोली रहनेछ । उनीहरुको टोलीसँग सिंगापुर प्रहरीको सहकार्य रहनेछ । जसमा सिंगापुर प्रहरीमा रहेको ‘गुर्खा कन्टिजेन्ट’ अर्थात सिंगापुर पुलिस फोर्स भित्र रहेका नेपाली टुकडी पनि समावेश हुनेछ ।
उनीहरुले वार्तास्थल, सडक, होटेल लगायतका स्थानमा सुरक्षा दिनेछन् । सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरुको संख्या न्यून भए पनि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा सचिव जिम माटिस तथा अन्य विशिष्ट व्यक्तिहरुको भ्रमणमा पनि सुरक्षा दिएका थिए । रोयटर्सले जतिसुकै आधुनिक हतियारसम्पन्न भए पनि गोर्खालीहरु बिना खुकुरी लड्नका लागि तयार नहुने जनाएको छ ।
इन्टरनेसनल इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिज(आईआईएसएस) का विज्ञका रुपमा रहेका टिम हक्स्ले ‘सिंगापुरले उपलब्ध गराउन सक्ने जति सुरक्षा उपलब्ध गराउने जनाएको छ । हक्स्का अनुसार ‘गोर्खालीहरु सधैँ मोर्चा अग्रपंक्तिमा रहेर काम गर्दछन् । उनीहरु विशेष परिस्थितको सामना कसरी गर्नुपर्छ भन्ने कुरामा निकै पोख्त हुने समेत जानकार हुने बताएका छन् । सिंगापुर प्रहरीका प्रवक्ताले भने कति जना गोर्खालीलाई खटाइनेछ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका छैनन् ।
आईआईएसएका अनुसार सिंगापुर प्रहरीको विभिन्न ६ वटा प्यारामिलिटरी कम्पनीमा १८ हजार ८ सय नेपाली कार्यरत भएको जनाएको छ । सिंगापुर प्रहरीमा रहेका १२ इकाइमध्ये गुर्खा कन्टिन्जेन्ट पनि एक हो । यो इकाइको स्थापना सन् १९४९ अप्रिल ९ मा स्थापना भएको थियो । सुरुमा यो इकाइले हुलदंगा नियन्त्रण गर्न खटाइए पनि विस्तारै भीआईपीको सुरक्षामा पनि खटाइन थालिएको हो ।
सन् १९७८ मा यसलाई प्रिजन गुर्खा युनिट(पीजीयू) का रुपमा पूनर्गठन गरियो तर सन् १९८१ मा यसलाई पुनः गुर्खा कन्टिनजेन्टको रुपमा पुनर्संरचना गरीउको हो ।
अहिले सिंगापुर प्रहरीमा कार्यरत नेपालीलाई भीआईपीका सुरक्षादेखि विभिन्न भूमिकामा खटाइएको छ ।








