काठमाडौं, बनेपादेखि बर्दिबाससम्मको विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउन दिने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सो रिटमाबाटो साँघुरो भएर सडकको सुरक्षा नहुने तथा अस्वस्थ प्रतिस्पर्धाको कारण दुर्घटना बढ्न सक्ने वातावरणीय असर र प्रदुषणका कारण जनताको जिउधनको असुरक्षा हुने भएकाले यो रिटको टुंगो नलागेसम्म ठूला सवारी साधनलाई विपि राजमार्गमा सञ्चालन गर्न नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी गरिपाउँ भनि उल्लेख गरीएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३ गते विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउने इजाजत (रुट परमिट) दिएको थयो ।
१६ टनसम्मका मालवाहक सवारीलाई राति ९ बजे देखि बिहान ५ बजेसम्म चलाउन ईजाजत दिएका थिए । यसअघि गरिएका दुई अध्ययनले १६ देखि १८ सिटका सवारी साधन र १० टनभन्दा कममात्र वजन भएका मालबहाक गाडी सो रुटमा चल्न सक्ने बताएका थिए ।








