काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३–३ रुपैयाँ वृद्धि गरेकोे हो ।
अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको हो ।
भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।
निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५–१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी मौलाएको छ ।
केपी ओली नेतृत्वको सरकार गठन भएपछिको यो चौथो पटकको मूल्यवृद्धि हो ।








