काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने भएको छ । महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार र्पुयाएको हो । सवारी चालकहरुले भने नयाँ नियमको विरोध गरेका छन् ।
यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार सिट क्षमताभन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई १ हजार रुपैयाँ जरिवाना गर्न लागिएको हो । त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको छ । महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ ।
ट्राफिक प्रहरीले नियम पालना गराउने कडा कारबाहीको व्यवस्था थप्दै जाँदा सवारी साधनका चालक भने असन्तुष्ट छन् । आफूहरुले नियम पालना गर्दा पनि ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको चालकको आरोप छ । अर्कोतिर सडक नै अव्यवस्थित हुँदा सबै निमय पालना गर्न नसकिएको चालक बताउँछन् । सिट क्षमताअनुसार मात्रै यात्रु बोक्ने हो भने फाइदा नै नहुने चालकको दाबी छ ।
साथै ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको छ । सामान छुट्ने, चोरी हुने र ठगीको समस्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने नियम ल्याएको हो । आरक्षण सिटको सदुपयोग नगर्नेलाई कारबाही गरिने बताउँदै आवश्यकताअनुसार चालक र सहचालकलाई चेतनामूलक कार्यक्रममासमेत सहभागि गराउने गरिएको ट्राफिक प्रहरी महाशाखाका वरिष्ट प्रहरी उपरिक्षक उमेश रञ्जितकारले बताए । कतिपय यात्रुले नै अटेरी गर्ने गरेकाले आरक्षण सिटको दुरुपयोग हुने गरेको उनको आरोप छ । तर आरक्षण सिटको दुरुपयोग हुँदा कारबाही भने गरिएको छैन ।
काठमाण्डौ उपत्यकाको सडक र सवारी निकै अस्तव्यस्त छ । कतिपय सडक तथा चोकमा त सवारी साधनको चाप बढ्दा ट्राफिक नियम पालना गराउन सक्ने अवस्था नै छैन । अर्कोतिर सवारी चालकले पनि ट्राफिक प्रहरीको आँखा छल्न पाए नियम मिचिहाल्छन् । त्यसैले सवारी साधनसँग सम्बन्धित व्यक्ति र नियमनकारी निकायबीच समन्वय हुनु जरुरी छ ।








