काठमाण्डौ । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड रुपैयाँ सासंद एक्लैले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोसित भएका छन् ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट विनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्षका सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरेका थिए ।
सासंद गजेन्द्रबहादुर महत त ससंदमा रुन नै बाध्य भए । सांसद महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका हुन् ।
समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको महतले आरोप लगाएका थिए ।
आज विहान ऋषि धमलासँग कुरा गर्दै उनले आफूले ससंदमा जनताको गुनासो पोखेको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै जुम्लाबा सासंद महतले विकासका लागि आवश्यक बजेट नदिइएकाले प्रश्न उठाउन बाध्य भएको बताए ।
“अहिले जुम्ला अँध्यारो छ । एक मेगावाट बत्ति चाहिएको छ । चार करोड वा पाँच करोड केही पनि चाहिएको छैन ।” उनले भने ।
“बहुमतको सरकारले सासंदका कुरा नसुन्ने भएकाले थप समस्या भएको महतले बताए । वाम गठबन्धनको सरकार त छ । अहिले त बहुमतभन्दा पनि धेरै बहुमत भइसक्यो । सासंदको कुरा सुन्नेवाला छैन । त्यसैले अलि बढि चिच्याउनुपर्ने भएको छ ।” महतले भने ।
बजेट आउनुपूर्व अर्थमन्त्री युवराज खतिवडालाई भेट्न खोजे पनि मौका नदिइएको भन्दै महतले गुनासो गरे ।
जुम्लाबासीलाई मन्त्रीहरुले हेर्ने दृश्टीकोण नै फरक भएको उनले बताए । चामल पठायो भने जुम्लाबासीले जाँड बनाएर खान्छन् भन्ने आरोप लाग्ने गरेको भन्दै उनले भने, “अहिलेका अर्थमन्त्री हिजोका दिनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा पनि जुम्लामा चामल पठायो भने जाँड खान्छन् भन्थे । जाँड त हामी चामल पठाए पनि खान्छौँ नपठाए पनि खान्छौँ । चिसो ठाउँमा राष्ट्रिय खाना जस्तै हो । हामी मकै, कोदो, चामल जे भए पनि जाँड बनाएर खान्छाँै ।”
अर्थमन्त्री डा. खतिवडाको बुझाईमा कुनै परिवर्तन नभएको उनको आरोप छ । अहिलेको बजेट काठमाण्डौ केन्द्रित भएको बताउँदै महतले अर्थमन्त्री खतिवडा कन्जुस बनेको आरोप लगाए ।
“हामीलाई आकाशको फल आँखा तरी मर जस्तै भयो । जुम्लालाई बजेट चाहिएन ? अब हामी के भनेर जनताकोबीचमा जाने ?” उनले भने ।
नेपालमा रेल आउँदैमा सबै समस्या समाधान नहुने उनको जिकिर छ । “रेल हुँदैमा समस्या समाधान हुने भए भारतमा सबै समस्या हटिसक्थ्यो । भारतमा रेलै रेल छ नि । हाम्रो जुम्लाको समस्या रेल हो ? मेट्रो हो ? होइन, हामीलाई दुई लाईनको रोड भए हुन्छ । एक मेघावाट बत्ति भए हुन्छ ।” महतले भने ।








