काठमाण्डौ । चुनावअघि जनतालाई ठूला ठूला सपना बाँडेका काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य चुनाव जितेपछि असफल जस्तै छन् ।
शाक्यकै मतदाता पनि महानगरको कुनै पनि कामबाट सन्तुष्ट हुन सकेका छैनन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा शाक्य निर्वाचित भएको बिहीबार एक वर्ष पुगेको छ ।
अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा निर्वा्चित भएपछि उनले काम सुरु गरेको एक वर्ष पुगेको छ ।
तर उनले के काम गरे भनेर खोज्ने हो भने उपलब्धि भेट्न मुस्किल छ ।
एक वर्षमा आफूले प्रतिवद्धता गरेको धेरै काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ ।
बिहीबार मेयर शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन गरेको छ ।
प्रदर्शनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।
विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
काम गर्न नसकेको आरोप एकतिर छ भने काठमाडौ महानगरपालीकाका मेयर र उपमेयरबिचको विवाद अर्कोतिर ।
महानगरपालीकाभित्र मेयर विद्यासुन्दर शाक्यले एकलौटी ढंगले निर्णय गर्ने गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीले बिहीबार नै पत्रकार सम्मेलन गरेर असन्तुष्टी व्यक्त गरेकी छिन् । आफु निकट वडाअध्यक्षहरुका साथ छुट्टै पत्रकार सम्मेलन गर्दै खड्कीले महानगरपालीकाको एकवर्षको कार्यप्रगतिसमेत सार्वजनिक गरेकी हुन् । उपमेयर खड्कीले महानगरपालीका भित्र सत्तापक्ष र प्रतिपक्षीको व्यवहार भएको गुनासो गरिन् ।
महानगरका हरेक गतिविधिमा मेयर शाक्यले आफूखुशी निर्णय गरेको आरोप खड्कीको छ । मेयर शाक्यकै कारण आजसम्म पञ्चबर्षिय कार्यक्रम तयार हुन नसकेको उनको आरोप छ ।
विद्यासुन्दर शाक्य तत्कालिन नेकपा एमालेबाट काठमाडौ महानगरपालीकाको मेयर पदमा बिजयी भएका थिए भने खड्की नेपाली काग्रेसबाट उपमेयरमा बिजयी भएकी हुन् । विगतमा पनि शाक्य र खड्कीबीच विवाद हुँदै आएको थियो ।








