नेपालको राजनीतिमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ— ’नेताहरू राजनीतिमा आउनुअघि कस्ता थिए र सत्तामा पुगेपछि कति धनी भए ?’ पारदर्शिता र सुशासनको नारा दिँदै बनेको नयाँ सरकारले सरकार गठन भएको १७ दिनमै आफ्ना प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
तर यसपटक सार्वजनिक भएको सम्पत्ति विवरण निकै रोचक, आश्चर्यजनक र कतैकतै त अनौठो पनि छ । मन्त्रीहरूसँग करोडौँको घरजग्गा, सेयर बजारमा भारी लगानी, र किलोका किलो सुन त छँदैछ; तर कतिपय मन्त्रीले आफ्नो सम्पत्तिको सूचीमा बाख्रा, कुखुरा र कुकुरसमेत खुलाएका छन !
आजको भिडियोमा हामी तथ्य र तथ्याङ्कका आधारमा कुन मन्त्री कति धनी छन् ? प्रधानमन्त्री बालेन्द्र शाहको युट्युब कमाइदेखि अर्थमन्त्री स्वर्णिम वाग्लेको करोडौँको घरजग्गासम्मको सम्पूर्ण चिरफार गर्नेछौँ ।
सबैभन्दा पहिला कुरा गरौँ, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहको । नयाँ पुस्ताका प्रतिनिधि मानिने बालेनको सम्पत्ति विवरण पनि निकै आधुनिक र ’डिजिटल’ छ ।
उनीसँग नगद मात्रै १ करोड ४६ लाख रुपैयाँ रहेको छ । सबैभन्दा रोचक कुरा त के छ भने, यो आम्दानीको स्रोत उनले फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जाललाई देखाएका छन् ।
सुनको कुरा गर्दा, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, साथमा चाँदी र हिराका गहना छन्, जसलाई पैतृक सम्पत्ति भनिएको छ । काठमाडौँ महानगरपालिका–९ मा ५ आना, धनुषामा १.२ बिघा र महोत्तरीमा ९ बिघा जग्गा प्रधानमन्त्रीको परिवारको नाममा रहेको छ ।
अब जाऔँ, देशको ढुकुटी सम्हाल्ने अर्थमन्त्री स्वर्णिम वाग्लेतिर । घरजग्गाको मामिलामा अर्थमन्त्री वाग्ले सबैभन्दा अगाडि देखिएका छन् । उनीसँग १२ करोडभन्दा बढीको घरजग्गा छ । ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको घरजग्गा, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दीपुरमा २ करोडको जग्गा उनको नाममा छ ।
अर्थमन्त्रीको लगानी सेयर बजारमा पनि लोभलाग्दो छ । सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला विकास बैंक, अपर मादी खोला र नेसनल फन्ड म्यानेजमेन्ट लगायतमा उनको करोडौँको सेयर लगानी रहेको छ ।
प्रधानमन्त्री बालेन शाहपछि सबैभन्दा धेरै सुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी चौधरीसँग छ । उहाँसँग १८० तोला सुन, २ किलो चाँदी र हिराका गहना छन् । काठमाडौँमा ३ तले घरसहित महोत्तरीमा ८ बिघा जग्गा र पोखरी छ । उनीसँग ३ करोड ३८ लाख बराबरको सेयर र बिग मार्टबाट आउने मासिक ९० हजार भाडा पनि सम्पत्तिको स्रोतमा उल्लेख छ ।
यस्तै, गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण हेर्दा उनी एक कुशल व्यापारी पनि भएको पुष्टि हुन्छ । उनीसँग ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर छ ८९ तोला सुन, ६ किलो चाँदी र बैंकमा ६१ लाख नगद मौज्दात छ । उनले व्यवसाय र पैतृक सम्पत्तिबाट यी सबै जोडेको दाबी गरेका छन् ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख बराबरको रहेको छ भने ७५ लाख ऋण छ । यसरी हेर्दा उनको खुद सम्पत्ति २३ करोड ४१ लाख रुपैयाँ बराबरको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि पिक एन्ड ड्रप, रिक्पा इन्टरनेसनल जस्ता कम्पनीमा भारी सेयर छ । तनहुँ र देवचुलीमा जग्गा, २२ तोला सुन र ४० लाख पर्ने गाडी उनको सम्पत्तिमा समावेश छ ।
अन्य मन्त्रीहरूको अवस्था पनि सामान्य छैन ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठः काठमाडौँमा दुईवटा घर, ७८ लाख नगद, १ करोड ४५ लाखको सेयरसहित ल्यान्ड क्रुजर र इलेक्ट्रिक गाडी चढ्छन् ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालः ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र रूपन्देही, नवलपरासी तथा स्याङ्जामा घरजग्गा छ ।
कानुनमन्त्री सोविता गौतमः काठमाडौँ र चितवनमा घर, १० लाख नगद, १५ तोला सुन र २६ लाखको गाडी । उनका श्रीमान्सँग ९५ लाखको गाडी छ, जसका लागि ४५ लाख ऋण लिएको खुलाइएको छ ।
श्रममन्त्री रामजी यादवः सप्तरीमा प्रशस्त जग्गा, ८० तोला सुन, १५० तोला चाँदी र बैंकमा ७० लाख नगद छ ।
पर्यटनमन्त्री खडकराज पौडेलः पोखरामा २ करोड ६० लाखको घर, विभिन्न ठाउँमा जग्गा, २ करोड २५ लाखको लगानी र १ करोड ४० लाख ऋण देखाएका छन ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलः १ करोड २० लाखको जग्गा, २५ तोला सुन र ४४ लाखको गाडी ।
स्वास्थ्यमन्त्री निशा मेहताः ३० तोला सुन, काठमाडौँमा जग्गा र १७ लाख नगद ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाः उनले अरुलाई ४७ लाख ऋण दिएका छन् । बैंकमा १० लाख नगद, जग्गा र २३ लाखको गाडी छ ।
अब कुरा गरौँ ती मन्त्रीहरूको जसको सम्पत्ति विवरणले धेरैको ध्यान तानेको छ । करोडौँको सेयर र घरजग्गाको सूची आइरहँदा केही मन्त्रीले आफ्नो पशुधनलाई पनि सम्पत्ति मानेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले १५ लाख नगद र १८ तोला सुनसँगै कृषि तथा पशुधनअन्तर्गत २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण बुझाएकी छन् ।
त्यसैगरी, कृषिमन्त्री गीता चौधरीले ५ तोला सुन र बैंकमा १ लाख २६ हजार मौज्दात खुलाउँदै २ वटा बाख्रा र १० वटा कुखुरा माइतबाट उपहार पाएको उल्लेख गरेकी छन् । उनले आफ्नो कमाइबाट किनेको ६५ हजारको ल्यापटप, ९० हजारको मोबाइल र ५० हजारको घडीको विवरण पनि निकै इमानदारीपूर्वक बुझाएकी छन् ।
विगतका नेताहरूले पुरानो घर वा गाउँको पाखोबारी मात्र देखाएर आफूलाई ’गरिब’ देखाउने होडबाजी गर्थे । तर यो सरकारमा रहेका नयाँ पुस्ताका मन्त्रीहरूले आफ्नो सम्पत्ति नलुकाई पारदर्शी रूपमा देखाएका छन् । बालेन शाहले युट्युब र टिकटकको कमाइ देखाउनुले राजनीतिमा आएको ’डिजिटल शिफ्ट’लाई दर्साउँछ ।
धेरैजसो मन्त्रीहरूको करोडौँको लगानी हाइड्रोपावर र विभिन्न प्राइभेट कम्पनीहरूको सेयरमा छ । यसले मन्त्रीहरू नीति निर्माण गर्ने ठाउँमा मात्र छैनन्, उनीहरू आफैँ ठूला लगानीकर्ता र व्यापारी पनि हुन् भन्ने प्रष्ट पार्छ । के व्यापारिक पृष्ठभूमि भएका मन्त्रीहरूले आफ्नो स्वार्थ नबाझिने गरी काम गर्न सक्लान् ? यो आगामी दिनमा हेर्न बाँकी छ ।
धेरै मन्त्रीले आफ्नो किलोका किलो सुन र करोडौँको जग्गाको स्रोत ’पैतृक सम्पत्ति’ भनेका छन् । नेपालको सन्दर्भमा पैतृक सम्पत्तिलाई सम्पत्ति शुद्धीकरणको एउटा सजिलो बाटो मान्ने गरिन्छ । के साँच्चै त्यो सबै पैतृक सम्पत्ति नै हो त ? यसको स्वतन्त्र छानबिन गर्ने संयन्त्र हामीसँग छ कि छैन ? यो एउटा गम्भीर प्रश्न हो ।
कुकुर, कुखुरा, घडी र मोबाइलसम्मको विवरण बुझाउनुले एकातिर कानुनप्रतिको इमानदारी देखाउँछ भने अर्कोतिर हाम्रो सम्पत्ति विवरण बुझाउने ढाँचा नै कतै अवैज्ञानिक त छैन भन्ने प्रश्न पनि उब्जाउँछ ।
समग्रमा भन्नुपर्दा, वर्तमान सरकारका मन्त्रीहरू आर्थिक रूपमा निकै सम्पन्न छन् । आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू राजनीतिमा आउँदा भ्रष्टाचार कम हुन्छ भन्ने एउटा तर्क छ भने, अर्कोतिर धनीहरूले गरिब जनताको पीरमर्का बुझ्न सक्दैनन् भन्ने आरोप पनि लाग्ने गर्छ ।
तपाईंलाई के लाग्छ ? के मन्त्रीहरूले सार्वजनिक गरेको यो सम्पत्ति विवरण पूर्ण रूपमा सत्य हो ? अनि करोडपति मन्त्रीहरूले देशको अर्थतन्त्रलाई सही बाटोमा डोहोर्याउन सक्लान् त ?








