विराटनगर , उद्यमशील सोचलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजनामा विराट एक्स्पोको अवसरमा सञ्चालन भइरहेको थिमेटिक सेसन अन्तर्गत ‘स्टार्टअप जिरो टु हिरो’ कार्यक्रमबाट चार उत्कृष्ट आइडिया छनोट भएका छन् ।
संघद्वारा सञ्चालन गरिएको बुट क्याम्पमार्फत छनोट भएका अन्तिम १५ आइडियामध्ये निर्णायक समितिले १३ आइडियाको प्रस्तुति मूल्याङ्कन गर्दै चार आइडियालाई उत्कृष्ट ठहर गरेको हो । छनोटमा परेका स्टार्टअप आइडियाले अब आइडिया स्टुडियो सिजन–९ मा सिधा प्रवेश पाउने अवसर प्राप्त गरेका छन् ।
कार्यक्रमका लागि आह्वान गरेपछि कोशी प्रदेशका १० जिल्लाबाट कुल ५२ आइडिया दर्ता भएका थिए । तीमध्ये बुट क्याम्पमा सहभागिता जनाएका आइडियाबाट अन्तिम चरणमा १५ छनोट गरिएको थियो ।
विराट एक्स्पो स्थलमा दैनिक सञ्चालन भइरहेको थिमेटिक सेसनकै क्रममा आइडिया पिच गरेका विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यका आइडियालाई निर्णायक समितिले उत्कृष्ट घोषणा गरेको हो ।
संघका अध्यक्ष अनुपम राठीले छनोट भएका आइडियालाई उद्यमशीलता विकाससँगै सफल व्यवसायमा रूपान्तरण गर्न संघले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









