काठमाडौं, लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत हुन् । शिरिस गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् भने श्याम जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा कार्यरत थिए ।
प्रहरीका अनुसार बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल चढेर काठमाडौंबाट चरिकोटतर्फ जाँदै गर्दा उनीहरु बा.प्र.०२–०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा पठाइएका थियो । अस्पताल पठाईएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।








