काठमाडौं, विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघले अर्को आन्दोलनका कार्यक्रम सोमबारदेखि नै सुरू गर्न लागेका बेला निजी विद्यालयका शिक्षकहरू पनि सडकमा उत्रिएका हुन् ।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायत निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
यसअघि गत बिहीबार निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने निजी विद्यालय सञ्चालक र शिक्षकको माग रहेका छन् यस्तै कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग छन् । यसैगरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने जस्ता मागहरु रहेका छन् ।








