काठमाडौं, सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन्। अझ चकित पार्ने कुरा के भने यादव प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन्, जसको मुद्दा हाल महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा रहेको छ। अदालतमा नपेस गरिएकाले मुद्दा अघि बढ्न सकेको छैन।
यति गम्भीर मुद्दाका अभियुक्तलाई पार्टी प्रवेश गराउँदा, कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु - महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, सांसद महेन्द्रकुमार राय, मधेश प्रदेश सभापति कृष्ण यादव र महोत्तरी सभापति नागेश्वर यादवको समेत उपस्थिति देखिएको छ।
२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा असई विकको हत्या गरिएको थियो। त्यस घटनामा संलग्न ७ जनालाई महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते जन्मकैदको सजाय सुनाइसकेको छ।
महोत्तरीका कांग्रेस सभापति नागेश्वर यादवले देवेन्द्र यादवमाथि हत्या मुद्दा रहेकोबारे आफूलाई जानकारी नभएको दावी गरेका छन्।








