स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरामा भोलि बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो । त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा चैत ६ बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिएका छन् । उनले मतदात प्रक्रियालाई सहयोग गरिदिन पनि विद्यार्थी संघ, संगठनलाई आग्रह गरेका छन् । मतपत्रमा समानुपातिकतर्फ अखिल छैटौंको चिह्न नै नभएपछि उत्पन्न विवादका कारण मतदान नै सुरु हुन सकेको थिएन । निर्वाचन समितिले गल्ती स्वीकार गर्दै फेरि मतपत्र छापेर निर्वाचन प्रक्रियामा जाने बताएको थियो । पीएन क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन ।
उता पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियनको मतदान रोकिएको छ । मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले बताए ।