रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ ।
मौसमविद प्रतिभा मानन्धरले होलीसम्म घाम राम्रोसँग नलाग्ने बताइन् । उनका अनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो । तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।
मौसमविद मानन्धरका अनुसार अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ । तर ठूलो पानी पर्ने सम्भावना छैन ।








