सन् २०२४ मा नेपालको हावा झनै प्रदूषित भएको छ । विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा पुगेको छ ।
यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो । आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पी.एम २ दशमलव ५, सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघन.मिटर देखिएको छ । यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर लगायत रोगको जोखिम बढ्छ ।








