काठमाडौं, गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । यही विषयमा हिजोको संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए भने आजको संसद् बैठकमा पनि नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।