काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिए को थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।
सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका हुन् ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।








