काठमाडौं । अमेरिकाको समाचार संस्था सीएनएनले नेपाली पत्रकार तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठलाई सन् २०२४ को एथलिट सूचीमा समावेश गरेको छ । सिएनएनले श्रेष्ठलाई १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरेको भन्दै एथलिट सूचीमा राखेको हो ।
पहिलोपटक सन् २०१८ मा सगरमाथा आरोहण गरेकी पूर्णिमाले त्यसअघि धवलागिरी र पाकिस्तानको के टु हिमाल पनि आरोहण गरिसकेकी छिन् । सगरमाथा आरोहणको कीर्तिमान राखेकै कारण सीएनएनको सूचीमा परेकी पूर्णिमा भने आरोहण गर्दा लागेको खर्च अझै तिरिरहेको बताउँछिन् ।
८ हजार मिटर अग्ला संसारका १४ वटा हिमाल आरोहण गर्ने सपना भए पनि आर्थिक अभावका कारण सपना पूरा नहुने हो कि भनेर चिन्ता लागेको उनि बताउछिन् ।
उनका अनुसार एकपटक सगरमाथा आरोहण गर्न न्यूनतम २० लाख रुपैयाँ खर्च हुन्छ । हिमाल आरोहणको खर्च जोहो भएमा सन् २०२५ मा नांगा पर्वत आरोहण गर्ने उनको योजना रहेको छ ।
पाकिस्तानमा अवस्थित ८ हजार १ सय २६ मिटर अग्लो नांगा पर्वत विश्वको नवौँ अग्लो हिमाल हो ।








