काठमाण्डौ – काठमाण्डौ उपत्यका र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम देखिएको छ । पूर्वदेखि पश्चिमसम्मका केही ठाउँमा हल्का वर्षा भए पनि काठमाण्डौ र मधेश प्रदेशमा आज पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकाको मौसम आंशिक बदली भएको छ भने मधेशसहित पूर्वी तराईमा हुस्सु लागेको छ ।
गएरातिदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा पनि हल्का पानी परेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै ठाउँहरु तथा कोशी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँहरुमा तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
भोलिदेखि मौसममा सुधार आउने, तर चिसो बढ्ने सम्भावना रहेको मौसमविदले जनाएको छ ।