काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनमा निरन्तरता पाउने भएको छ । आज (सोमबार)बाट यो चलचित्र प्रदर्शन नहुने भनिए पनि अन्ततः प्रदर्शनले निरन्तरता पाएको छ ।
‘पुष्पा–२ :द रुल’ आएपछि ‘पूर्ण बहादुरको सारङ्गी’ले पर्याप्त शो नपाएको गुनासो गर्दै निर्माताले चलचित्र सोमबारबाट उतार्ने निर्णय गरेका थिए । तर, वितरक र प्रदर्शकले भने चलचित्र नउतार्न निर्मातालाई दबाब दिएको थिए ।
विद्यार्थीलाई सिनेमा देखाउन चाहेको भन्दै प्रदर्शनलाई निरन्तरता दिन आग्रह गरेकाले पनि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शनलाई निरन्तरता दिइएको सेभेन सिस सिनेमाले जनाएको छ ।
कात्तिक १५ गतेबाट ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको थियो । यो चलचित्रले नेपालमा हालसम्मकै सबैभन्दा धेरै ग्रस कलेक्सन गरिसकेको छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।
बाबु–छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन् ।