काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याकेकी हुन् ।
विनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो । तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले प्रतिक्रिया जनाउन भ्याएको हो ।
विनुले छ्यापेको मसीले ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ । त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ ।