कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए ।
नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।
प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेका छन् । एसपी बोगटीका अनुसार नवराजले भनेअनुसार कुनै विवरण मिल्दैन र कुनै कुरा पनि घटनासँग मेल खाँदैन । निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।