काठमाडौं - आजदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको छ ।विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारबाट पाँच महिनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अब आज अर्थात कार्तिक २३ देखि चैत्र १८सम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ ।
हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ।
स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् ।स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ ।