मंसिर २६,२०८१ / ०८ : ५८ अपरान्ह / 2024-12-11 08:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रविका समर्थकद्वारा पोखरामा प्रर्दशन,निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

      - १ महिना अगाडि
      कार्तिक २०,२०८१

      पोखरा, सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको अवस्थामा उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

      पोखरास्थित जिरो किलोमा भेला भएका रास्वपाका नेता कार्यकर्ता सहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

      तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । यता लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै आज पनि पोखरामा प्रदर्शन गरेका हुन् । लामिछाने गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ परेका थिए । त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन् ।

        सम्बन्धित समाचारहरु