प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ थालिएको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतको बुधबारदेखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको हो ।
राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका छन् । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थियो ।
उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी परेका छन् । राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका छन् ।
न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका छन् । उनले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका कामकारबाही प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए । यता सांसद प्रकाश अधिकारीले बार र बेन्चका बिचमा बेला बेलामा सम्बन्ध सुमधुर नहुने गरेको बताउँदै अधिकांश प्रधानन्यायाधीशको समयमा किन यस्तो हुन्छ भन्दै प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रश्न गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पनि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन् ।