बाग्लुङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो ।
दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एकडेढ हप्ताअघि काठमाडौं आएकी थिइन् । काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको शर्माले बताए ।
गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।
अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।
अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बाग्लुङ अस्पताल पठाइएको छ ।