काठमाडौं-सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली हाल काठमाडौं फर्किएको छ ।
एक हप्ता अघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार स्वदेश फर्किएको प्रहरी प्रधान कार्यालयका स्रोतले जानकारी दिएका छन् ।
पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी लगायतका सहकारीमा सर्वसाधारणका बचत रकम हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राईको मलेसियामा रहेका बारे थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरी टोली पठाइएको थियो ।
उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । प्रहरी उच्च स्रोतले टोली मलेसिया गएर फर्केको र अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन नमिल्ने बताएको छ ।
पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया पुगेको हो । नेपाल प्रहरीका अनुसार, जीबी क्वालालम्पुरको देशापण्डनमा एक अपार्टमेन्टमा बस्दै आएका छन् र उनले ७ करोड नेपाली रुपैयाँभन्दा बढीको अपार्टमेन्ट खरिद गरेको दाबी गरिएको छ । साथै, जीबीले मलेसिया लगेर १ अर्ब रुपैयाँभन्दा बढीको रकम लगानी गरेको दाबी प्रहरी स्रोतले गरेको छ ।