नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गृहमन्त्रीलाई यातायात क्षेत्रका समस्या समाधानका लागि शीघ्र पहल गर्न आग्रह गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यानमा राख्दै यातायात क्षेत्रका समस्याहरू समाधान गर्न अनुरोध गरेका हुन् ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीहरूले चार लाख गाडीमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । यसैले गाडीहरूको सुरक्षा र समस्याहरूको समाधानमा शीघ्र पहल गर्न गृहमन्त्रीलाई अनुरोध गरिएको छ ।
हाल सडक दुर्घटनामा दैनिक सात जनाको ज्यान जानुका साथै ४० जना घाइते हुने गरेका छन् । चाडपर्वको अवसरमा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्गको अवस्थालाई सुधार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
गृहमन्त्री लेखकले सडक दुर्घटनाको न्यूनिकरणका लागि सबैलाई आफ्नो ठाउँबाट काम गर्न र चाडपर्वको समयमा यात्रुलाई प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उहाँले सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरी लगायतलाई आउँदो दुई–तीन महिनामा दुर्घटना घटाउने परिणाम ल्याउनेगरी काम गर्न पनि अनुरोध गरेका छ ।