झापा प्रहरीले १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका ५ मा नाबालिकालाई सातजनाले सामूहिक बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ प्रहरीका अनुसार, घटनामा संलग्न एकजना अझै फरार छन् ।
शुक्रबार राति ती युवाले नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार अर्जुनधारा नगरपालिका ५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा ८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनील राजवंशी, सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ गरिएको छ ।
डीएसपी चन्दका अनुसार अनिष लिम्बू, सरोज राई र केशव मगरले शुक्रबार साँझ अर्जुनधारा ८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए । राति ११ बजेतिर अर्जुनधारा ७ स्थित लंका होटेल एन्ड रिसोर्टमा अर्जुनधारा ७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले सामूहिक बलात्कार गरेको बताए ।
डीएसपी चन्दका अनुसार, प्रहरीलाई घटनाबारे शनिबार साँझ मात्र जानकारी प्राप्त भएको थियो । पीडित बालिकाको उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिहरूमध्ये सञ्जीव तामाङ फरार छन् ।