सिन्धुलीमा जिप दुर्घटनाका हुँदा तीन जनाको ज्यान गएको छ भने ११ घाइते भएका छन् ।
मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–६ का ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालका अनुसार उनीहरूको उपचारको क्रममा आज बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
दुर्घटना बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिकको बीपी राजमार्गमा भएको हो, जहाँ गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको थियो ।
घटनामा ११ जनाले चोटपाएका छन्, जसमा जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई समेटेर गोलञ्जोर–६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।
अन्य घाइतेहरूमा गोलञ्जोर–६ की १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ की ७८ वर्षीया डम्बर कुमारी कार्की रहेका छन् । उनीहरूको उपचार जिल्ला अस्पताल सिन्धुलीमा जारी रहेको छ ।








