यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै यसमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।
यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो । तर, त्यतिबेला प्रक्रिया अघि नबढ्दै सत्ता फेरबदल भएपछि अहिले फेरि गृहकार्य गरिएको हो ।
यद्यपि, यसका लागि समेत मलेसियाली सरकारले स्वीकृति दिनुपर्ने भएकाले यो विषय पनि उतैको सरकारमै भर पर्छ । प्रहरी प्रधान कार्यालयले ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जीबी राईलाई नियन्त्रणमा लिन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई प्रहरीलाई मलेसिया जान स्वीकृत गरिदिन र प्रहरी प्रधान कार्यालयसँग यथेष्ठ बजेट समेत नभएकाले त्यसको व्यवस्था समेत गरिदिन भन्दै गृहमा पत्राचार गरेको छ ।
यसका लागि गृहबाट परराष्ट्र मन्त्रालय हुँदै मलेसियाली दूतावास मार्फत स्वीकृति लिनुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि अहिले कूटनीतिक पहल समेत भइरहेको गृह स्रोतले जानकारी दिएको छ ।
जीबीलाई नेपाल ल्याउन नदिए पनि उनीमाथि नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । जीबी मलेसियामै रहेकाले उनीमाथि लागेको आरोप तथा सहकारी ठगीबारे जानकारी, उनको बयान लगायत विषयबाट केही नयाँ तथ्य खुल्न सक्ने प्रहरीको विश्वास छ ।
नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेर बसेको दाबी प्रहरी स्रोतको छ ।
मलेसियाकै अर्को सहर साइबरजयामा उनले मार्टसमेत खोलेको बताइन्छ । १ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।
जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पुगेका थिए ।
तर, त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोतले बताएको छ ।








