एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकहरूको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परेका व्यक्तिहरूको परिवारबाट तथ्य संकलनमा ढिलाइका कारण पहिचान प्रक्रिया प्रभावित भएको हो ।
त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीका अनुसार, मृतक चिनियाँ नागरिकहरूको नाम जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेको छ । उनीहरूले शव पहिचानका लागि आवश्यक तथ्याङ्क संकलन गरिरहेका छन् । डा.चौधरीले परिवारका आफन्तबाट मृतकको हुलिया र अन्य विवरणहरू संकलन भइरहेको तर यो प्रक्रिया पूरा हुन नसकेको र शव सुरक्षित राखिएको बताएका छन् ।
मृतकहरूको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (म्ख्क्ष्) प्रणालीबाट गरिनेछ । डा.चौधरीका अनुसार, शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल रेकर्ड, र शरीरमा रहेका स्थायी चिह्नहरू (जस्तै खत र ट्याटु) जाँच गरिनेछ । साथै, पहिरन र गहनाहरूको पनि अध्ययन हुनेछ ।
गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको थियो । यस दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकहरूको मृत्यु भएको थियो । क्याप्टेन मल्लको शव भने उनका परिवारलाई जिम्मा लगाइएको छ ।
दुर्घटनाको थप अनुसन्धान जारी रहेको छ, र स्थानीय प्रशासनले घटना सम्बन्धी थप जानकारी संकलन गरिरहेको छ । यस घटनाले पर्यटन क्षेत्रमा चिनियाँ नागरिकहरूको सुरक्षा र यात्रा प्रबन्धका बारेमा चासो बढाएको छ ।