२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा दोस्रो पटक ४ वर्षका लागि नियुक्त भएका थिए । कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् ।
कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको घिसिङले बताए । जसअनुसार ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७८-७९ र आव २०७९-८० मा क्रमश : ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए । यस्तै आ.व. २०८०-८१ को मूल्याङ्कनको क्रममा रहेको घिसिङले बताए । आठ वर्षअघि अर्थात २०७२-७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले बताए । आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।
विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको पनि घिसिङले बताए । सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको बताउँदै उनले बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको बताए ।
आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले बताएका छन् । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको पनि उनले बताए । उनका अनुसार घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ ।