रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्युको समाचारले परिवारलाई झकझक्याएको छ । हरिप्रसाद, जो नेपाली सेनामा कार्यरत थिए, गत कात्तिकमा रुसी सेनामा भर्ना हुन मस्को पुगेका थिए । तीन महिना पछि उनको निधनको खबर परिवारले पाए ।
पुसको पहिलो हप्ता रुसमा रहेका उनका साथीहरुले परिवारलाई हरिप्रसादको निधनको सूचना दिएका थिए, तर अधिकारिक जानकारी नआएसम्म परिवारलाई विश्वास गर्न गाह्रो भएको थियो । दोस्रो हप्ता सरकारले यो कुरा पुष्टि गरेपछि मात्र परिवारले हरिप्रसादको मृत्यु स्वीकार गरे ।
शवको पखाइमा बसेका परिवारका सदस्यहरुले शव नपाएपछि कुशको शव बनाएर राम्दीस्थित कालीगण्डकीमा अन्त्येष्टि गर्नुपरेको थियो । लगभग ७ महिना पछि, हालै परिवारले रुसबाट अस्तु प्राप्त गरेका छन् । त्रिभुवन विमानस्थलमा बुधबार अस्तु बुझेपछि परिवारले पशुपति आर्यघाटमा तिलाञ्जलि अर्पण गरेका हुन ।
अर्यालको परिवारसँगै गत मंसिरमा रुस–युक्रेन युद्धमा मारिएका स्याङ्जाकै प्रितम कार्कीको परिवारले पनि ८ महिनापछि अस्तु पाएका छन् । प्रितमको परिवार पनि लामो समयदेखि शवको पखाईमा बसेको थियो । शव आउने सम्भावना नदेखेपछि उनीहरुले कुशको शव बनाएर अन्तिम संस्कार गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्स (कार्गो) का अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ, महोत्तरीका अनितकुमार साहको अस्तु परिवारलाई हस्तान्तरण गरिएको हो । मृतकका आफन्तले अस्तु बुझेर बिहीबार आर्यघाटमा विसर्जन गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा मारिएका स्याङ्जाका प्रितम कार्की, हरिप्रसाद अर्याल र गणेश श्रेष्ठ, कास्कीका देवन राई र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल ल्याएर परिवारलाई बुझाइएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार, रुसी सेनामा भर्ना भएका ३६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृतकका परिवारले शव फिर्ता, क्षतिपूर्ति र सम्पर्कविहीन व्यक्तिहरुको खोजीको माग गरेका छन् ।
सरकारी अधिकारीहरुले भने शव ल्याउन प्रक्रिया झञ्झटिलो भएको बताएका छन् । रुसी सेनामा भर्ना हुने क्रममा व्यक्तिहरूसँग एक लिखित सम्झौता गरिएको थियो, जसमा मृत्यु भएमा शव रुसभित्र मात्र पु¥याउने उल्लेख छ ।
हालसम्म १६२ नेपाली रुसी सेनाबाट फिर्ता भइसकेका छन्, जबकि ३०० भन्दा बढी सम्पर्कविहीन छन् । परिवारहरुले ११८ जना सम्पर्कविहीनको खोजी र १६६ जना फिर्ता गर्न निवेदन दिएका छन् ।
नेपाली नागरिकहरु अवैध रुपमा रुसी सेनामा भर्ना हुन पुगेका गत कात्तिकमा पहिलो पटक सार्वजनिक भएको थियो ।
हालसम्म रुसी सेनामा भर्ती भएका नेपालीहरुको यकिन छैन । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार, रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या एक हजारमाथि रहेको अनुमान गरिएको छ ।
नेपाली नागरिकहरुको रुसी सेनामा भर्ना हुन थालेको समाचार सार्वजनिक भएपछि सरकार र परराष्ट्र मन्त्रालयले फिर्ताका प्रयासहरू तीव्र पार्न आवश्यक भएको देखिन्छ ।