आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो !
मृत्युलाई न त जित्न सकिन्छ न त टार्न नै तर पनि दुई पटक मृत्यु जितेका क्याप्टेन अरुण तेस्रो पटक अस्ताएका छन् । भनिन्छ, ‘लेखेको पाइन्छ, देखेको पाइँदैन ।’ लेखान्तमा जे छ, त्यो भएरै छाड्छ । यो लेखान्त सायद क्याप्टेन अरुण मल्लकै लागि थियो ।
क्याप्टेन अरुण मल्ल, जसले दुई पटक मृत्यु जितेका थिए तर बुधबार तेस्रो पटक हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका छन् । निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीका वरिष्ठ पाइलट अरुणले काठमाडौँबाट रसुवा स्याफ्रुबेसी उडाएका थिए, र हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा प¥यो, जसमा चार चिनियाँ यात्रुले पनि ज्यान गुमाएका छन् ।
उनले एकपटक कर्णाली एयरको हेलिकप्टर उडाउँदा जुम्ला–कालिकोट रेन्जमा माओवादी विद्रोहीले गोली प्रहार गरेका थिए । द्वन्द्वकालमा माओवादीले प्रहार गरेको गोलीले अरुणको हेलिकप्टर छेडेर वारपार भए पनि उनले सकुशल अवतरण गरेका थिए । त्यस घटनामा उनले पहिलो पटक मृत्युलाई जितेका थिए ।
त्यसपछि २०७० असोजको दोस्रो साता काठमाडौँबाट लुक्ला उडाएको एयर डाइनेस्टीकै हेलिकप्टर लुक्ला विमानस्थलको तारबारमा ठोक्किएर दुर्घटनामा परेको थियो । त्यस समय तीन यात्रु सवार हेलिकप्टरमा क्षति पुगे पनि सबै सकुशल थिए । यस घटनामा क्याप्टेन अरुणले दोस्रो पटक मृत्युलाई जितेका थिए ।
तर, बुधबारको लेखान्त भने उनका लागि अर्कै थियो । अरुणले तेस्रो पटक लेखान्त टार्न सकेनन् र सदाका लागि बिलाई गए । पछिल्लो पटक गत चैतमा आफ्नो जन्मगाँउ आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । उनले रिटायर्ड लाइफ बिताउन गाउँ आउने सोच अनुसार आफ्नो पुरानो घर मर्मत गर्न थाली सकेको उनका भतिज रिम मल्लले बताए । काका (अरुण) को योजना सुनेर उत्साहित रिम दुर्घटनाको खबरले मर्माहत भएको बताएका छन् ।
बुधबारको दुर्घटना मौसमका कारण भएको अनुमान गरिएको छ । दुर्घटना कसरी भयो भन्ने अनुमान गरेका एक क्याप्टेनका अनुसार क्याप्टेन अरुणले काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी रुटमा कम्तीमा एक हजार पटक हेलिकप्टर उडाइसकेका छन् । उनलाई त्यो रुटमा कहाँनेर डाँडा छ, र कहाँनेर अग्ला रुख छन् भन्ने कुरा कण्ठस्थ थियो । तर, बुधबार अकस्मात बिग्रिएको मौसमले उनलाई चक्मा दिएको बताए ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः५४ बजे उडेको एयर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै ‘एयर ट्राफिक कन्ट्रोल’ (ए.टी.सी) सँग सम्पर्क विच्छेद भएको थियो ।
क्याप्टेन अरुणका सहकर्मीहरूले उनलाई एक इमानदार र अनुभवी पाइलटको रूपमा सम्झिएका छन्, जसले उड्डयन नियमहरू कडाइका साथ पालन गर्थे । उड्डयन क्षेत्रमा एक अत्यन्त अनुभवी र परिपक्व पाइलट गुमेको बुझ्न सकिन्छ । यो अपूरणीय क्षति हो । अरुणले करिब १५ देखि १६ हजार घण्टा हेलिकप्टर उडाएको उनका एक सहकर्मीको अनुमान छ ।
जीवन अनिश्चित छ, र सबैभन्दा अनुभवी व्यक्तिहरूले पनि अप्रत्याशित चुनौतीहरूको सामना गर्न सक्छन् । यसले सुरक्षा मूल्यांकन गर्न, नियमहरूको पालना गर्न, र अरूको अनुभवबाट सिक्न महत्वपूर्णता झल्काउँछ ।